आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरेको हो । पुस १० गतेबाट फरक ढंगबाट अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुरूप खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो । राज्यका सम्पूर्ण संरचनामा सुधार गर्ने लक्ष्य लिएको सरकारले खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रूपैयाँ खर्च हुने गरेको भन्दै खाजा कटौती गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषदमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब  ६० लाख जोगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरू गरिएको छ । 
 

प्रतिक्रिया