अंग्रेजी नयाँ वर्ष आज नेपाली टोपी दिवस मनाइँदै

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ । दिवसका अबसरमा आज काठमाडौंको बसन्तपुरमा टोपी सहितको ¥याली निकालिएको छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।  विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् । 
 

प्रतिक्रिया