समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुने बताएका छन । आज काठमाडौंको टुडिखेलमा तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै उनले देशका  मौलिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताएका हुन । प्रधानमन्त्री दाहालले देशको विशेषता र मौलिकताको आत्मसातिकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।  
प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको पनि उल्लेख गरे । नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरुको संगमस्थल भएको उनको भनाइ थियो । कार्यक्रमका शहरी विकास मन्त्री सीता गुरुङले सरकार जनताको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताइन । 
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न आज तमु ल्होसार मनाएका हुन । गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । 

प्रतिक्रिया