२०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढ्यो

सन् २०२२ मा भन्दा यो वर्ष अर्थात् सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा रहेको अभिलेखले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हनन्का विभिन्न घटना घटेको र पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको जनाएको हो । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना जानकारीमा आएकोमा सन् २०२३ मा ५८ वटा घटना दर्ता भएका छन । त्यस्तै सन् २०२३ मा १३ महिला पत्रकार र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् । सन् २०२२ मा १३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै यो वर्ष ५ वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए । नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको छ ।सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनाएको छ । महासंघले राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भएको जनाएको छ । सरकारले सन् २०२३ मा सञ्चार सम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको पनि महासंघको आरोप छ । 

प्रतिक्रिया