'लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने

बस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ । हेस्टरले पशु सेवा विभागबाट नै अनुमति लिएर तान्जानियाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्न मुख्य बिउ मास्टर सिड ल्याएको छ । सो बिउबाट खोप उत्पादन गरी त्यसको नमुना परीक्षणका लागि तान्जानिया पनि पठाइएको छ । त्यहाँबाट प्रतिवेदन आउन बाँकी छ । औषधी व्यवस्था विभागबाट अनुमति र तान्जानियाबाट अन्तिम प्रतिवेदन आइसकेपछि उत्पादन सुरु हुने हेस्टरले जनाएको छ । पशु सेवा विभागले पनि हेस्टरबाट नै खोप खरिद गर्ने भएपछि उत्पादनका लागि हतार गरिएको हो । उत्पादनको तयारी सुरु भए पनि हेस्टर र पशु सेवा विभागबिच हालसम्म लिखित सहमति भने भएको छैन एक वर्षमा ‘लम्पी स्किन’ विरुद्ध १२ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये पहिलो चरणमा २६ लाख डोज उत्पादन हुनेछ । 

प्रतिक्रिया