एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

पहिलो क्वालिफायरमा कोशी प्रदेश ५२ रनले पराजित

एपीएफ क्लब प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीको लागि अप्सरी बेगमले सर्वाधिक ३१, रुविना क्षेत्रीले २२, लखिता राजवंशीले १४ रन बनाईन् । एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले अविजित ५६, रोमा थापाले अविजित १८, सीता रानामगरले ४५, ज्योति पाण्डेले १२ रन बनाईन् । कोशीले अव एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल सोमबार खेल्नेछ । एलिमिनेटरमा अहिले सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।।
 

प्रतिक्रिया