२२ दिनदेखी वडामा तालाबन्दी पालिका मौन

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा र वडा नम्बर –१ का वडाअध्यक्ष फुनुरु शेर्पा बिचको अन्तर द्वन्दका कारण २२ दिनदेखि वडा कार्यालय बन्द हुँदा सर्वसाधारण दैनिक सेवा सुबिधाबाट बञ्चित हुनु परेको छ । गाउँपालिकाले वडाको बजेट सिलिङ कटाएको , पालिकाको सूचना उपलब्ध नगराएको , पालिका अध्यक्षको अनुकुल निर्णय गर्ने गरेको र बिकास निर्माणमा वडा लाई उपेक्षित गरेको गम्भीर आरोप लगाउदै वडा अध्यक्षले गत मंसिर २० गतेदेखि वडामा ताला लगाएर हिडदा समेत उक्त ताला खोल्न पालिकाले अग्रसरता देखाएको छैन । ५ वटा वडा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्ष सहित बहुमत सदस्य कार्यपालिकामा रहेकोले उनीहरुको मनोमानी छ । हरेक कुरामा राजनीतिक प्रतिशोध राख्दै आफुलाई अन्याय गर्ने गरेको कुरा पटकपटक पालिका अध्यक्ष लाई राख्दा समेत आफ्नो माग सुनुवाइ नभएपछि आफुले वडा कार्यालय बन्द गर्न बाध्य भएको वडाअध्यक्ष शेर्पा बताउ छन ।वडाअध्यक्षको आरोपमा सत्यता नभएको पालिका अध्यक्षले दाबी गरेपनि ताला खोल्न पालिका अध्यक्षले कुनै चासो दिएका छैनन् । सगरमाथा आरोहण गर्न आउने पर्यटकहरु मार्फत करोडौं राजस्व उठाउदै आएको यो गाउँपालिकाको आन्तरिक आम्दानी जिल्लाका अन्य स्थानीय तहको भन्दा राम्रो छ । प्रायः जसो स्थानीयबासीहरु पर्यटकीय गतिविधिमा संलग्न हुने भएकोले वडा र पालिकाका गतिविधिहरुमा स्थानीयले खासै चासो नदिदा जिबिसमा लामो समय काम गरि आर्थिक लाभ लिएका केही कर्मचारी र पालिका अध्यक्ष सहितका जनप्रतिनिधिहरुले चरम आर्थिक अनियमितता र अपचलन गर्ने गरेको जनप्रतिनिधि नै स्वीकार गरेको छ । स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालय लामो समय बन्द भै समयमै काम नहुदा स्थानीयमा आक्रोश देखिन थालेको छ ।

पछिल्लो समय स्थानीय तहका प्रमुखहरुले आफुलाई जनताको सेवक सम्झनुको सट्टा शासक सम्झेर आफू अनुकुल निर्णय गराउने, कार्यकर्ता भर्ती गर्ने र नियम कानुन बिपरित काम गर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिबेदनले समेत उल्लेख गरेको छ । जबसम्म जनप्रतिनिधिहरुमा आफू शासक हु भन्ने भावना रहन्छ तबसम्म यस्ता समस्याहरु आइरहने कुरामा दुइमत छैन,लामो समय देखि वडा कार्यालय बन्द भएको प्रती सबै सरोकारवालाहरु गम्भीर र जिम्मेवार बन्दै जनताको दैनिकी सरल र सहज बनाउन आवश्यक छ । यसतर्फ सबैको गम्भीर ध्यान जाओस अन्यथा यो रोग अन्य स्थानीय तहहरुमा पनि देखिने निश्चित छ । यसतर्फ सम्बन्धित जनप्रतिनिधिहरु अझ बढी जिम्मेवार हुन सक्नुपर्छ ।

 

प्रतिक्रिया