नेपाल विद्युत् प्राधिकरणद्धारा महसुल नतिरेका उद्योगको विद्युत् आपूर्ति बन्द

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो ।  गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिल ,  निगाले सिमेन्ट , त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज ,हिमाल आइरन एण्ड स्टील जगदम्बा इन्टरप्राइजेज , हामा आइरन एभरेष्ट पेपर मिलको लाइन काटिएको छ । यसैगरी,  कसमस सिमेन्ट , शुभश्री अग्नी सिमेन्ट , जगदम्बा सिन्थेटिक , घराना फुड्स , सिद्धार्थ पेटप्लास्ट , बुटवल सिमेन्ट , नारायणी स्पात को लाइन काटिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन क्रमशः काट्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया