बक्यौता नतिर्ने उद्योगहरुको लाइन क्रमशः काट्दै जान्छ:  प्राधिकरण

सामूहिक निर्णयबाट लाइन काट्न थालिएको प्रष्टोक्ति

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमशः काट्दै लगिने स्पष्ट पारेको छ । आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरूको बिजुली विच्छेद गर्दै जाने रणनीति रहेको स्पष्ट पारेका हुन । घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निर्णयबाट काटिएको दाबी समेत गरे ।
निर्देशक घिसिङले सरकार, अख्तियार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको दाबी गरे ।  अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरु नौ वटा उद्योगको लाइन काटेको र बाँकीको क्रमशः लाइन काट्दै जाने घिसिङले स्पष्ट पारे ।  
घिसिङले आफूले कुनै तथ्यांक नलुकाएको पनि उनले दाबी गरेका छन् ।प्राधिकरणले करिव ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी रहेको जनाएको छ ।  उद्योगीहरुले भने विवाद नटुंगिँदै प्राधिकरणले लाइन काट्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । लोडसेडिङका बेला दुई सय ३९ ग्राहकले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेका थिए । तीमध्ये १ सय ७८ उपभोक्ताले महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ । ६१ उपभोक्ताको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड रुपैयाँ छ ।

प्रतिक्रिया