पुष २४ देखि आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने
बाँकेमा महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले पुष २४ देखि २८ गते सम्म हुने भएको हो । थुप्रै चुनौति र समस्याहरुको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ ।
नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले आर्थिक चुनौतिको सामना गर्दै महिला उद्यमीहरुको हौसला अभिवृद्धिमा सघाउने विश्वास गरिएको छ । प्रदर्शनी नेपालगन्ज उप–महानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको बाल उद्यानमा पाँच दिन सम्म चल्ने छ । प्रदर्शनीमा जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु राखिनेछ । बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन पनि समावेश हुनेछन । प्रदर्शनीमा ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् । प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । प्रदर्शनीको करिब ८ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।
प्रतिक्रिया