सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । आइतबार र बुधबारको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । बुधबार सरकारी वकिल र पीडित पक्षका निजी गरी १० वकिलले बहस गरेका थिए ।अधिवक्ता मुरारी सापकोटाले बहस गर्दागर्दै समय सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो र आज सापकोटाले आफ्नो बहस सकेपछि सन्दीपका कानुन व्यवसायीले बहस गर्नेछन् । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि जाहेरवालातर्फबाट पुनः जवाफी बहस हुनेछ । त्यसपछि अदालतबाट फैसला आउनेछ । सन्दीपका वकिलको बहस लम्बिएमा फैसला शुक्रबारका लागि सर्नेछ । तर, बहस छोटो भएर जवाफी बहस सकिएमा भने आज नै फैसला आउने बताइएको छ । पटक–पटक पेशी स्थगित हुँदै आएको मुद्दा यसपटक भने अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले समेत छिटो मुद्दाको निरुपण गर्न आदेश दिइसकेको अवस्थामा जिल्ला अदालतबाट एक वर्ष दुई महिना हुँदासम्म फैसला हुन सकेको छैन । गत वर्ष भदौमा गौशालाको एक होटलमा नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्दीप पक्राउ परेका थिए । केही महिना कारागार बसेपछि उनी उच्च अदालतको आदेशमा छुटेका थिए ।
 

प्रतिक्रिया