ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु अवैधानिक: रवि लामिछाने

आफूलाई पनि कारबाही भए भोग्न तयार रहेको प्रष्टोक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । शेयर प्रकरणका विषयमा खबर सार्वजनिक भएपछि उनले आज सामाजिक सञ्जालमा विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने प्रतिक्रिया दिएका हुन । उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न समेत गरेका छन । सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमले गर्ने ‘आलोचना’ सकारात्मक दिशानिर्देश र ‘निन्दा’ कुत्सित उद्देश्य प्राप्तिका लागि हो भन्ने आफूले बुझेको समेत उल्लेख गरेका छन । नियत नै खराब राख्नेसँग सही नियतले प्रतिवाद गर्नुको अर्थ नहुने भए पनि आफूले सत्य स्थापित गर्ने प्रयास मात्रै गरेको भन्दै उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नताको विषयमा प्रष्टीकरण दिएका हुन । सहारा चितवन सहकारीको ८५ करोड हिनामिना भएको विषयमा आफू अझै ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको जसरी भ्रम छर्न खोजिएको उनको दाबी छ । सभापति लामिछानेले टिभी छोड्ने बेलैमा  शेयर फिर्ता गरेको पनि उल्लेख गरेका छन । उनले सेयर लगतको नयाँ कागजातमा आफू सेयरवाला नभएको स्पष्ट देखिने भन्दै त्यससम्बन्धी प्रमाण पनि पेस गरेका छन् । सहकारीले आफ्ना सदस्यबाहेक कुनै संस्थालाई ऋण दिनु कानुन विपरीत भएको उनको स्वीकारोक्ति छ । उनले आफूले सहकारी पीडितको बारेमा कहिल्यै नबोलेको भन्ने भ्रम छर्न खोजिएको पनि बताएका छन् ।

प्रतिक्रिया