मधेसले गण्डकीलाई २७ रनले हरायो, लुम्बिनीसँग कर्णाली ३० रनले स्तब्ध
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ३० रनले हराएको छ । त्रि बि क्रिकेट मैदान कीर्तिपुरमा जितको लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो । उता लुम्बिनीको दोस्रो जित हो । लुम्बिनी पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । सुदूरसँग ९ विकेट र एपिएफसँग ९० रनले पराजित भएको थियो । आजै भएको अर्को खेलमा मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै पहिलो जित हात पारेको छ । जितको लागि १ सय १३ रनको बलियो विजयी लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अल आउट भयो । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । मधेश बागमतीसँग २८ रन, एपिएफसँग १० विकेट र कोशीसँग ६० रनले हारेको थियो । उता गण्डकी लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीलाई ४४ रनले हराउँदा बागमतीसँग ४ विकेटले हारेको थियो । आठ टोली सहभागी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
प्रतिक्रिया