मध्य पहाडलाई समृद्धिको केन्द्र बनाउने एमालेको घोषणा

सबैभन्दा ठूलो समस्या बसाइसराई रहेको निष्कर्ष

नेकपा एमालेले मध्य पहाडलाई सम्मृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । आइतबार संकल्प यात्राबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले तीन साता लामो यात्राका क्रममा खासगरी मध्य पहाडको आर्थिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या बुझ्ने मौका पाएको जनाएको छ । मङ्सिर १४ देखि पुस १ गतेसम्म गरेको यात्रा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरका चिवाभञ्ज्याङ पुगेर समापन भएको थियो । यात्राका क्रममा मध्य पहाडमा सबैभन्दा ठुलो समस्या बसाइसराइ रहेको निष्कर्ष पनि एमालेले निकालेको छ । 
एमालेले मध्य पहाडी क्षेत्रको विकास निर्माणका लागि सातवटा निष्कर्षसहित सङ्कल्प गरेको छ । एमालेले नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको निष्कर्ष निकाल्दै सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा रहेको जनाएको छ । त्यस्तै एमालेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता एवम् त्यही विविधता भित्रको एकता नै नेपालको पहिचान भएको भन्दै एकतालाई अझ सुदृढ र मजबुत बनाउन लागिपर्ने जनाएको छ । एमालेले समृद्धि र विकासको जगमा मात्रै लोकतन्त्र अप्रतिरोध्य बन्न सक्ने निष्कर्ष पनि निकालेको छ । एमालेले यात्राका क्रममा जनताले राखेका मागलाई पुरा गर्नेतिर लाग्ने समेत जनाएको छ । वर्तमान सरकारले जनताका माग सम्बोधन नगरे पनि आफ्नो नेतृत्वको सरकार बन्नासाथ यसको दिगो समाधान र कार्यान्वयन गर्ने एमालेको भनाइ छ । आफूले देखेका र स्थानीयबाट अभिव्यक्त भएका सम्भावना र चुनौतीका आधारमा एमालेले मध्य पहाडको विकास र समृद्धि सम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया