शेयर बजारमा आज यो बर्षकै सबैभन्दा बढी कारोबार
शेयर बजारमा आज यो बर्षकै सबैभन्दा बढीको कारोबार भएको छ । आज एक करोड ८५ लाख कित्ता शेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको हो । यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट कम्पनी, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका छन । कारोबार उच्च भएपनि शेयर बजार परिसूचक नेप्से भने आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको हो । आज ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।।
प्रतिक्रिया