इजरायली कारबाहीले गाजामा मानवीय सहायता सामग्री आपूर्तिमा अवरोध: राष्ट्रसंघ

इजरायलले गत हप्ता हमास र इस्लामिक जिहाद संगठनका दुई सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको बताएको छ । इजरायलले एक विज्ञप्ति जारी गर्दै केही संदिग्धहरू आम जनतामाझ लुकेका र उनीहरूले स्वेच्छाले आत्मसमर्पण गरेको बताएको हो । ’हमासलाई समाप्त पार्ने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म ७ सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिएको उसको भनाइ छ  । उता इजरायलले गाजामा बमबारी जारी राखेको छ र नागरिकलाई क्षेत्र खाली गर्न आदेश दिएको छ । हालै इजरायलले जारी गरेको यस्तै आदेशका कारण गाजाका लाखौँ मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा जारी इजरायली सैन्य कारबाहीले मानवीय सहायता सामग्री आपूर्तिमा अवरोध पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले तत्कालै व्यावसायिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न पनि आग्रह गरेका छन् । गाजामा पर्याप्त सुरक्षा, सहायता निकायका कर्मचारीको काममा सहजता, खाद्यान्न व्यवस्था र व्यापारिक गतिविधि सञ्चालन गर्न दिन उनको आग्रह छ । अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान सुरु गरेको थियो । इजरायली आक्रमणपछि गाजामा रहेका हमास र इस्लामिक जिहादका सयौँ आवासीय क्षेत्र भग्नावशेषमा परिणत भएका छन् ।आक्रमणमा हालसम्म २० हजार मानिस मारिएको र करिब ५० हजार घाइते भएका छन ।
 

प्रतिक्रिया