विश्वविद्यालयहरुमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या थप्दैन: शिक्षामन्त्री राई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले विश्वविद्यालयहरुको संख्या बढाउने भन्दा गुणस्तर वृद्धि गर्ने विषयमा सरकार लागिपरेको बताएका हुन् । उनले विद्यालयहरुको शिक्षामा गुणस्तर वृद्धि गरी विश्व विद्यालयहरु राज्यको नियम तथा पद्धतीमा चल्नु पर्नेमा आफू स्पष्ट रहेको बताए ।
मन्त्री राईले नेपालको जनसंख्याको १५ प्रतिशत मात्रै उच्च शिक्षाको पहुँचमा रहेको तथ्याङ्कहरु आएको भन्दै सरकारले सन् २०३० वा २०३५ सम्ममा २५ देखि ४० प्रतिशत जनसंख्याको पहुँचमा उच्च शिक्षा पु¥याउने लक्ष्य राखिएको बताए । बैठकमा नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा सांसदहरुले जोड दिएका थिए ।
सांसदहरुले सरकारले त्रिभुवन विश्वविद्यालयमा भएका समयमा परीक्षा नहुने र परीक्षाफल प्रकाशन हुने समस्या तत्काल हटाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया