नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ
काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ । समितिको शुक्रवारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो । समितिका सभापति बिमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफाबार छलफल हुने बताइन् ।
समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिन बाहेक नियमित रुपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई आग्रहसमेत गरिन् । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने बताए ।
मन्त्री गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने पर्ने धारणा पनि राखेका छन् । सहमतिको प्रयासलाई छाडेर प्रक्रियामा गएर टुंग्याउँदा गलत सन्देश जान सक्ने उनको भनाइ छ । बैठकमा नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने धारणा राखेका थिए । बैठकमा समितिका सदस्य ध्रुवबहादुर प्रधानले कुनैपनि घटनाको आरोपीलाई राजनीतिक निर्णय गरेर माफी दिने कुरा ऐनमा राख्नु नहुने भन्दै ध्यानाकर्षण गराएका थिए । समितिको आगामी बैठक पुस ८ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया