चिसो मौसम सुरु भएसंगै एलपी ग्यासको खपत घट्यो
चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने घटेको छ । चिसो मौसममा विगतमा खपत बढने गरेको भएपनि यो बर्ष भने गत साउनदेखि नै ग्यासको खपतमा गिरावट देखिएको हो । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युतको आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको बताइएको छ । विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको भएपनि यो बर्ष त्यस्तो देखिएको छैन । नेपाल आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको बताइएको छ । आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको ग्यास विक्रेता महासंघको भनाइ छ । अहिले देशभर ५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन् । विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिन्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको तथ्यांकले देखाएको छ । ग्यासको खपत घटेसँगै गत आवमा ग्यासको आयातमा कमी आएको छ । निगमका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । तर अघिल्लो वर्षको तुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
प्रतिक्रिया