राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले तोक्यो मतदान स्थल

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आज प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय हेटौडा तोकिएको हो । गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, कैलालीलाई मतदान स्थल तोकिएको छ । तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहने आयोगले जनाएको छ । मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । आयोगले निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम गरिसकेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर उपमेयर मतदाता हुने व्यवस्था छ । 

प्रतिक्रिया