सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान असन्तुष्ट
उखु खेती गरिरहेका किसान सरकारले निर्धारण गरेको उखुको मूल्यबाट निरास भएका छन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु सिजनको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ कायम गर्ने निर्णय गरेकोमा किसानले असन्तुष्टि जनाएका हुन । गत वर्ष किसानले पाएको भन्दा सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउने निर्णय गरेको छ । तर, उखु खेतीमा लागेका किसानले यो मूल्यमा चित्त बुझ्दो नभएको भन्दै आन्दोलतको तयारी थालेका छन । उद्योगीले चिनी प्रतिकिलो एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बेचिरहेको अवस्थामा उखुको मूल्य ६ सय ३५ निर्धारण हुनु खेदजनक भएको किसान बताउछन । चिनीको बिक्री मूल्यको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ कायम गर्नुपर्ने माग किसानको छ । चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा वैज्ञानिक ढंगले उखुको मूल्य निर्धारण गर्न माग गर्दै सर्लाहीका किसान दुई सातादेखि आन्दोलनमा छन । उनीहरुले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन । सरकारले किसानका कुरै नसुनी उद्योगीको प्रभावमा परेर उखुको मूल्य निर्धारण गरेको आरोप उखु किसान संघर्ष समितिको छ । पछिल्लो मूल्य निर्धारणपछि किसानले थप आन्दोलन गर्ने चेतावनी दिएका छन । देशका धेरैजसो चिनी उद्योग भने सञ्चालनमा आइसकेपनि किसान आन्दोलनले समस्या भएको छ ।
प्रतिक्रिया