वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि
नेपाल वायुसेवा निगमले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको जनाएको हो । निगमका अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आव २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ । निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको जनाएको छ । आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा छन् । निगमले अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले यसतर्फ आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्ने काम भइरहेको बताएको छ ।
प्रतिक्रिया