बाराको तीन नम्बर पुल नजिकै बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थीत तीन नम्बर पुल नजिक आज विहान बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रक चालक तन्हु जिल्ला पिपरटार निवासी २८ वर्षिय पुर्ण गुरूङ, अर्का बस चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ०३ निवासी ४० वर्षिय हरि शम्सेर सुयाल थापा र परिचय नखुलेका करिब ३४ वर्षिय पुरूषको पनि ज्यान गएको छ । उनीहरुको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।  तनहु बन्दिपुरका तेज कुमार गुरूङ, सुनसरीका खिलराज दुलाल, सुरेन्द्र गौतम, सम्झना गजुरेल,सोराय गौतम, सोडनेम गौतम र बसको सह–चालक झापाका नगेन्द्र उप्रेतीको अवस्था गम्भिर छ । गम्भीर घाइतेलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज – ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि ट्रक सडक भन्दा तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया