अस्थायी आवास निर्माण सम्पन्न नहुँदा भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर
अस्थायी आवास निर्माण सम्पन्न नहुँदा जाजरकोटका भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ । जाजरकोटको भूकम्प प्रभावित भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले आफूहरु अस्थायी आवास कसरी दिने भन्ने कुराको दबाबमा रहेको बताएका हुन । घर भग्नावशेषमा परिणत भएका र आशिंक क्षति भएकाहरुमा पनि बस्न सक्ने अवस्था नहुँदा त्रिपालले मात्रै जाडो धान्न नसकेको उनको भनाइ छ ।
सरकारले २५/२५ हजार रुपैयाँका दरले दुई पटक गरेर अस्थायी आवास निर्माणका लागि ५० हजार दिने कार्यविधि बनाएको छ । सोही कार्यविधि अनुरुप भूकम्प प्रभावितहरुले रकम भने लिइरहेका छन् । तर मौसमी प्रतिकुलताका कारण भूकम्प प्रभावितहरुको जनजीवन भने दिन प्रतिदिन प्रभावित बन्दै गइरहेको छ । प्रभावितहरु त्रिपालमुनि रात बिताउन बाध्य छन् । कठ्याङ्ग्रिदो जाडोमा त्रिपालले समेत थेग्ने अवस्था नहुँदा प्रभावितहरुले सरकारले अस्थायी आवास निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि सहजीकरण गर्नुपर्ने आग्रह गरिरहेका छन् । गत कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको थियो । भूकम्पका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका करिव सबै घरहरु क्षतिग्रस्त भएका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि भनेर ५० हजार रुपैयाँ दिने घोषणा गरेपनि आजसम्म भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माण सम्पन्न हुन सकेको छैन ।
प्रतिक्रिया