मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन

काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । संघर्ष समितिले सोमबार कोटेश्वर चोकदेखि तीनकुने हुँदै मीनभवनसम्म दबाबमूलक र्यालीसँगै प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए । 
बाढी–पहिरोले परियोजनामा असर गर्न सक्ने भन्दै जेठमा पानी वितरण गरेको मेलम्चीले अहिलेसम्म पुनः उपत्यकामा पानी ल्याउने कुनै पहल नगरेपछि संघर्ष समिति गठन गरी विरोध गरिएको हो । मेलम्ची मुहानको मर्मतको जिम्मा पाएको ठेकेदारले भुक्तानीनदिएको भन्दै काम रोकेपछि मेलम्ची पानी आउनेमा अन्यौल देखिएको छ । गत वर्ष पनि बर्खाअगावै काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द गरिएको थियो । सात महिना वित्दा पनि मेलम्ची पानीको वितरण सुरु भएको छैन । अहिले काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। तर आपूर्ति भने १० करोड लिटर हाराहारी मात्रै हुँदा हिउदमा पानीको हाहाकार हुने गरेको छ । बागमतीबाट दैनिक चार करोड लिटर र ३२ वटा मुहान तथा ९० बढी ट्युवेलहरूबाट सुख्खायाममा १० करोड लिटर र वर्षायाममा १५ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ ।
 

प्रतिक्रिया