शेयर बजारमा उच्च वृद्धि, नेप्से ३८ अंकले बढ्यो
शेयर बजारमा आज उच्च बृद्धि देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अंकले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको हो । आज छ महिनायताकै उच्च कारोबार भएको छ । आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । गएको असार १० गतेयता छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको आज पहिलो पटक हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । लघु समूहको शेयरमा हरियाली छाएको छ । बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बढेको दिन आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले ओरालो लागेको छ । आज बजारमा कारोबारमा आएका कम्पनीमध्ये १६५ को सेयर मूल्य बढेको छ । ७२ कम्पनीको सेयर मूल्य भने घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
प्रतिक्रिया