त्रिभुवन विश्वविद्यालयका २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । आज  दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन ‘ओडब्लुआर’ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ । त्रिविको तथ्यांक दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर ‘ओडब्लुआर’ले विश्व कीर्तिमान प्रमाणित गरेको हो । ‘ओडब्लुआर’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको हो । ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने बताइएको छ । आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘ओडब्लुआर’का प्रतिनिधि नेपाल आएका थिए । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । योभन्दा अगाडि ७४ हजारसम्मले एकैपटक दीक्षित हुन योग्य भएपनि दीक्षान्त समारोहमा ठूलो भौतिक उपस्थिति नभएकाले त्रिविले त्यसमा दाबी गरेको हो । 

प्रतिक्रिया