चालु आर्थिक वर्षको मंसिरसम्ममा सरकारको आम्दानी ८९ अर्ब ५६ करोड रूपैयाँ कम
चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो पाँच महिना मंसिरसम्ममा सरकारको आम्दानी ८९ अर्ब ५६ करोड रूपैयाँ कम भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च साढे ८९ अर्ब रूपैयाँले बढी रहेको छ । पाँच महिनाको तथ्यांकले सरकार साढे ८९ अर्ब रूपैयाँ घाटामा देखिएको हो । सरकारले मंसिर मसान्तसम्ममा चार खर्ब ५२ अर्ब ९९ करोड रूपैयाँ खर्च गरेको छ भने राजस्व, वैदेशिक अनुदानसहित तीन खर्ब ६३ अर्ब ४२ करोड रूपैयाँ मात्र आम्दानी गरेको छ। यो अवधिमा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । सरकारले चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँको बजेट ल्याएको छ । सरकारको पुँजीगत खर्च चिन्ताजनक रहेको छ । यो अवधिमा जम्मा ११ दशमलब ९४ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्च भने ३१ दशमलब ५३ प्रतिशत भैसकेको छ । सरकारले लक्ष्यभन्दा करिब एक खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ । यो वर्ष १३ खर्ब पाँच अर्ब ४७ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा तीन खर्ब ३७ अर्ब १८ करोड रूपैयाँ मात्र राजस्व संकलन भएको छ ।
प्रतिक्रिया