बैदेशिक रोजगारीमा जाने बा¥ह हजारले ज्यान गुमाएको तथ्यांक
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ । यो वर्ष आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवसको पहिलो दिन आज मन्त्रालयले आप्रवासनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्दैछ । आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ । श्रमिकको हक अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कागजमा मात्रै सीमित हुँदा उनीहरूले आफ्ना आधारभूत हक अधिकार उपभोग गर्न पाएका छैनन् । एउटा भनेर अर्को काममा लगाउने, भने जति तलब नदिने, तलब कटौती वा रोक्का गरिदिने, दैनिक १२ घण्टाभन्दा बढी काममा खटाएर पनि ‘ओभरटाइम’ को तलब नदिनेजस्ता विद्यमान समस्या श्रमिकसामु छन् । खाने, बस्नेलगायत आधारभूत आवश्यकताका समस्या झेल्न आप्रवासी श्रमिक बाध्य छन् । डेढ दशकको बिचमा वैदेशिक रोजगारीमा गएका १२ हजार ७ सय ८४ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा दुई हजार ८७२ जना बिरामी र अङ्गभङ्ग भई नेपाल फर्किएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार यही अवधिमा ८२ खर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । विश्व बैङ्कको अक्टोबर २०२३ को प्रतिवेदन अनुसार नेपालमा कुुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २२.७ प्रतिशत छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०÷५१ देखि २०७९÷८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् ।नेपालबाट वार्षिक रूपमा करिब १० लाख नेपाली विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया