सरकारको कामकाजको समीक्षा गर्ने बेला आयो: विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकारको कामकाजको समीक्षा गर्ने बेला आएका बताएका छन् । नेपाल प्रेस युनियन बाग्लुङले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि समीक्षा गर्ने समय नजिक आएको बताएका हुन । महामन्त्री शर्माले फागुनमा महासमिति हुने समयसम्म सरकारले गति देखाउन सकेन भने देशैभरीबाट आएका प्रतिनिधिले पार्टीको मात्रै नभई सरकारको पनि समीक्षा गर्ने दाबी गरे ।
महामन्त्री शर्माले अहिले नै सरकार परिवर्तन गर्ने पक्षमा काँग्रेस नभए पनि सरकारले कामलाई गति दिनुपर्नेमा जोड दिए । उनले अहिले नै निर्वाचनको बारेमा सोच्ने नभएको उल्लेख गरे । २०८४ को चुनावमा के गर्ने भन्ने विषय त्यतिबेला नै गर्ने भन्दै राष्ट्रिय सभा मा भने अहिलेकै गठबन्धनले निरन्तरता पाउने महामन्त्री शर्माको भनाइ थियो । कांग्रेसका केही नेताले राष्ट्रिय सभा सदस्यका लागि समानुपातिक सूचिवाट आफ्नो नाम फिर्ता लिएपनि टिकट पाउने निश्चित नभएको उनको जिकिर थियो । एउटा छिमेकीसँग विमानस्थल बनाउने ऋण लिँदै गर्दा अर्को छिमेकीसँग आकाश प्रयोग गर्ने विषयमा सल्लाह नगर्दा विमानस्थल चल्न नसकेको भन्दै महामन्त्री शर्माले चिन्ता प्रकट गरे ।
प्रतिक्रिया