एमालेको अठार दिने समृद्धिका लागि संकल्प यात्रा सकियो

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचथरको चिवाभञ्ज्याङस्थित जंगेपिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । यससँगै १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पनि सकिएको छ ।आजै हेलिकोप्टरमार्फत् चिवाभन्ज्याङ पुगेका ओलीले झण्डा फहराएर पार्टीको संकल्प यात्रा सफल भएको घोषणा गरेका हुन । सो क्रममा अध्यक्ष ओलीले यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे । उनले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता गरे ।  वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अध्यक्ष ओलीले अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने पनि बताए । बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । एमालेले मंसिर १४ गते अभियान थालेको थियो । अभियानका क्रममा एमालेले मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले ३० वटा ठूला सभा र एक सय भन्दा बढी कार्यक्रम गरेको छ ।

प्रतिक्रिया