काभ्रे हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माण सुरु

बाग्मती प्रदेशको राजधानी हेटौंडालाई काभ्रेको बीपी राजमार्गसँग जोड्ने छोटो दुरीको सडक निर्माण सुरु भएको छ । वीपी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगाहुँदै हेटौंडा जाने प्रादेशिक सडकको प्रदेशका आर्थिक मामिला, भौतिक पूर्वाधार, र खानेपानी मन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेका हुन । सडक शिलान्यास गर्दैै आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले तीन तहका सरकारमा योजनामा दोहोरोपना नहुने भन्दै सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएको बताए । 
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र उर्जामन्त्री तीर्थ लामाले चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने काभ्रेका दुर्गम भेगका बासिन्दाको सडक सपना चाँडै पूरा हुने बताए । 
शिलान्यासमा सहभागी सरोकारवालाहरुले रणनीतिक महत्त्वको सडक चाँडै पूरा हुने प्रतिबद्धता जनाएका थिए । पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतीका लागि ५१ करोड ४४ लाख लागतमा सिद्ध बाबा–ग्रीन तारा जेभीले ठेक्का सम्झौता गरेको छ  । 
 

प्रतिक्रिया