राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दललाई आज चुनाव चिह्न प्रदान गरिदै
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गर्न लागिएको हो । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने कार्यतालिका छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।रिक्त २० मध्ये निर्वाचन हुने १९ स्थानमै गठबन्धन हावी हुन सक्ने भएकाले सत्ता सहयात्री दलमा निर्वाचनमा पराजित भएकादेखि समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेतासमेत आकांक्षी देखिएका छन ।
प्रतिक्रिया