स्थानीय तहलाई थप मजबुत बनाउन नीतिगत सुधार आवश्यक: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझै मजबुत बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । आज २९ औं काठमाडौँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको दाबी समेत गरे । प्रधानमन्त्री दाहालले सरकारले वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र अधिकार सम्पन्न तुल्याउत थप  प्रभावकारी काम गर्ने प्रतिवद्धता पनि जनाए । 
प्रधानमन्त्री दाहालले काठमाडौं महानगरले गरेका शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा समेत गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 
प्रमुख साहले तीनकुनेको मुआब्जा समस्या र उपत्यकाका खोला अतिक्रमणको समस्या समाधानका लागि सहयोग गरिदिन पनि प्रधानमन्त्री दाहाललाई आग्रह गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरिन् । 
उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँ र सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको पनि बताईन् ।

प्रतिक्रिया