हमास पराजित नभएसम्म युद्ध नरोक्ने रक्षामन्त्री गालान्टको चेतावनी

इजरायलले हमाससँगको युद्ध थप केहि समय लम्बिने बताएको छ । इजरायली रक्षामन्त्री योभ गालान्टले हमाससँगको युद्ध अझै केहि महिना टिक्ने बताएका हुन । गाजामा युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढिरहदा इजरायलले हमास पराजित नभएसम्म युद्ध नरोकिने चेतावनी दिएको हो । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमाससँगको विजय धेरै टाढा नभएकाले युद्ध चाडै सकिने उल्लेख गरेका छन  । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको जीवन कसरी बचाउने भन्नेमा ध्यान दिन इजरायललाई आग्रह गरेका छन् । उता इजरायलले गाजाको दोस्रो सहर खान युनिसमा इजरायलले भूमिगत आक्रमणलाई तिब्रता दिएको छ । गाजा भरि इन्टरनेट र फोन नेटवर्क काटिएको छ । गाजामा बिहीबार इजरायलको आक्रमणमा कम्तीमा १ सय ११ प्यालेस्टिनीको मृत्यु  भएको छ । यो क्रममा कैयौँ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना स्वास्थ्यकर्मी पक्राउ गरेको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६ सय  पुगेको छ । 
 

प्रतिक्रिया