हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपालको हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न आग्रह गर्दै आज सरकारको ध्यानाकर्षण गराएको छ । कार्यवाहक सभापति डोलप्रसाद शर्माको नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन । रास्वपाले त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डलिङमा प्राधिकरणको निर्णय, युरोपेली युनियनको सुरक्षा सूचि र नेपालको कमजोरी तथा निगमको नयाँ विमान खरिदबारे उठिरहेको विषयहरू समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । नेपाल बायुसेवा निगमको ग्राउन्ड ह्यान्डिलिङको अनुभव भएको र अर्बौं लगानी गरेको अवस्थामा निजी कम्पनीलाई खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ दिने योजना राष्ट्रिय सुरक्षासँग जोडिएको रास्वपाले जनाएको छ । रास्वपाले युरोपेली युनियनले दिएको सुझावको सम्बोधनसहित उडान सुरक्षा प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएको छ । युरोपेली युनियनको सेफ्टी लिस्टमा रहँदा नेपालको पर्यटन उद्योग नै धरासायी हुने रास्वपाले उल्लेख गरेको छ । निगमले नयाँ विमान खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेकोमा पनि विगतमा झैं भ्रष्टाचारको आशंका रहेको पार्टीले उल्लेख गरेको छ । ठूलो विमान किन्दा नेपाल बायुसेवा निगमको एसीएमआई मोडलमा जानुपर्ने सुझाव रास्वपाको छ । प्रधानमन्त्री दाहालले ज्ञापनपत्र बुझ्दै नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार प्रयत्नशील रहेको बताएका छन । नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ । 

प्रतिक्रिया