रास्वपाको महाधिवेशन प्रक्रिया आजदेखि सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ । रास्वपाले आजवाट सात प्रदेशका सात वडाबाट अधिवेशन सुरु गर्न लागेको हो । सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको पार्टीले जनाएको छ । रास्वपाका अनुसार सुदुरपश्चिमको कैलालीको टीकापुर नगरपालिका–१ मा सहमन्त्री विपिनकुमार आचार्य, कर्णालीको सुर्खेत भेरीगंगा नगरपालिका–६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, लुम्बिनीको बुटवल उपमहानगरपालिका–१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् । यस्तै, गण्डकीको पोखरा महानगरपालिका–१० मा प्रमुख सचेतक सन्तोष परियार, बागमतीको भरतपुर महानगरपालिका–११ मा महामन्त्री मुकुल ढकाल, मधेसको बारा जीतपुर सिमरा उपमहानगरपालिका–२ मा सहमहामन्त्री सुमना श्रेष्ठ खटिएकी छिन । त्यस्तैगरी कोशी प्रदेशको इटहरी उपमहानगरपालिका–२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ । प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ । ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरिएको छ । त्यस्तै चार जनामध्ये पनि एक जना अनिवार्यरूपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्ने व्यवस्था समेत छ ।
 

प्रतिक्रिया