विवाह पञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ
जनकपुरधाममा आज रामजानकी विवाह पञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुष यज्ञ कार्यक्रम गरिन्छ । सप्ताहव्यापी विवाह पञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन बुधबार फूलबारी लीला सम्पन्न भइसकेको छ । विवाह पञ्चमीको चौथो दिन भोलि शुक्रबार तिलकोत्सव राम मन्दिर परिसरमा हुनेछ । पाँचौँ दिन मटकोर गंगासागर पोखरी घाटमामा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा कार्यक्रम तय गरिएको छ ।सातौ दिन रामकलेवा गरी विधिवत् रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
प्रतिक्रिया