एमालेको समृद्धिका लागि संकल्प यात्रा आज धनकुटा पुग्दै

नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा पुग्दैछ । एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट  सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्ने भएको हो । आज धनकुटाका लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रम राखिएको छ । दिउसो बसन्तपुरमा आमसभा हुनेछ । लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछन्।  अध्यक्ष ओलीले हिलेमा पार्क उदघाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । यसैविच धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका ९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र्र खारा राईसहित कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेलालगायत उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ रहेका छन् ।  पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ । 
 

प्रतिक्रिया