हमाससँगको युद्ध कसैको दबाबमा नरोकिने इजरायलको प्रतिक्रिया

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँगको युद्ध कसैको दबाबमा नरोकिने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले गाजामा युद्ध विराम गर्नु पर्ने प्रस्तावलाई बहुमतले पारित गरेपछि इजरायलको यस्तो प्रतिक्रिया आएको हो । नेतान्याहुले हमास पराजित भएपछि मात्रै युद्ध रोकिने बताएका हुन् ।इजरायली विदेशमन्त्री एली कोहेनले युद्ध नरोकिने बताउदै युद्ध विराम गरेर हमासलाई आराम गर्ने मौका दिन नसकिने बताएका छन ।  हमासका लागि युद्ध विराम अहिले राम्रो उपहार हुनेमा इजरायल सचेत रहेको उनको भनाइ छ । अमेरिका सहित सबैले इजरायललाई संयम बन्न आग्रह गरिरहदा इजरायल भने थप आक्रामक बन्दै गएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत इजरायलले अन्धाधुन्ध बमबारी गरेको भन्दै आलोचना गरेका थिए । यसैबीच, रातभरको आँधीका कारण आफ्नो घर छोडेर भागेका प्यालेस्टिनीहरूको बिजोग भएको छ । अस्थायी आवासमा रहेका उनीहरुको अवस्था नाजुक बन्दै गएको छ । हमासले गत ७ अक्टोबरमा इजरायलको कडा सुरक्षामा घेराबारा गरिएको क्षेत्र तोडेर इजरायल भित्र पसेर आक्रमण गर्दा १ हजार २ सयको मृत्यु भएको थियो । सो क्रममा हमासले २ सय ४० जनालाई बन्धक बनाएको थियो जसमध्ये केहीलाई मात्रै उसले रिहा गरेको छ । बदलामा इजरायलले गरेको आक्रमणमा अहिलेसम्ममा १८ हजार ६ सय जनाको मृत्यु भएको छ । ५० हजार भन्दा बढी घाइते भएका छन् ।। 

प्रतिक्रिया