राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन गगनको माग
महासमिति बैठक सार्न नहुने निष्कर्ष
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । बुधवार संस्थापन इतर पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय बैठकले गरेको बताएका हुन् । त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ ।
त्यस्तै, सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा. शेखर कोईरालाले महामन्त्री थापासँग आफ्नो मतभेद नरहेको दाबी गरे । उनले काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको बताएका हुन् ।
नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने पनि बताए । बैठकमा नेताहरुले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन संगठित रुपमा दबाब दिनुपर्ने बताएका थिए । त्यसैगरी, नेताहरुले थापा र कोइरालालाई मिलेर अघि बढ्न आग्रह समेत गरेका थिए ।
प्रतिक्रिया