स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारको वातावरण बन्दै गएको प्रधानमन्त्रीको दाबी

स्वदेश फर्कन विदेशीएका नेपालीहरुलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि नेपालीहरु बिदेशीनु नपर्ने बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सीप र प्रविधि युक्त नेपालको उच्च शिक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको दाबी गरेका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका दाहालले नेपाल उच्च शिक्षाको मुख्य गन्तब्य बन्न सक्ने बताउँदै संभावना र अवसरलाई भने चिन्नुपर्नेमा जोड । उनले स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारको वातावरण बन्दै गएको भन्दै स्वदेश फर्कन विदेशीएका नेपाललाई आग्रह समेत गरे । 
प्रधानमन्त्री दाहालले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको भन्ने खबर चिन्ताजनक रहेको पनि बताए । उनले रुसी सेनामा भर्ना भएका नेपाललाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको पनि जानकारी दिए । 
प्रधानमन्त्री दाहालले विश्वविद्यालयले जलवायु परिवर्तन र वातावरण विषय अध्यापन गराएर महत्त्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा समेत गरे । कार्यक्रममा विश्वविद्यालयका १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दाश, विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा लगायतले पनि सम्बोधन गरेका थिए ।
 

प्रतिक्रिया