बारामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप, एक जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ–१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते भएका बिनको नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए । उनीहरूले प्रमुख कलवारको गाडीमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गरेको प्रहरीले जनाएको छ । झडपमा १० जना प्रहरी समेत घाइते भएका छन् । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो । आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन । जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू पनि आन्दोलित बनेका हुन् । तलवको माग गर्दै नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मी आन्दोलनमा रहेका छन् भने केहीदिनदेखि विद्यालय र पाच महिनादेखि स्वास्थ्य संस्था बन्द अवस्थामा रहेको छ । प्रमुख साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ । यसअघि प्रमुख साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो ।
प्रतिक्रिया