भूकम्पका पीडित अस्थायी आवासको लागि १ अर्ब ४ करोड स्थानीय तहको खातामा
जाजरकोट भूकम्पका पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगेको छ । मन्त्रिपरिषद्रु र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहमा सो रकम पठाइएको हो । जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि १ अर्ब ४१ करोड रकम निकासा भएको र यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९, १६२ जना लाभग्राहीका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २ हजार ४ सय २३ र सल्यानमा ४० गरी २ हजार ४ सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोबास गर्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम २ अर्ब ६० करोड ५० लाख रुपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाहरूबाट माग भई आएको प्राधिकरणले जानकारी दिएको छ । अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन । चिसो बढ्दै गएकाले यो संख्या बढ्नसक्ने सम्भावना छ । कात्तिक १७ गतेको भुकम्पवाट जाजरकोटका एक सय एक र रुकुम पश्चिमका ५३ जनाको मृत्यु भएको थियो ।।
प्रतिक्रिया