वीरगन्ज महानगर प्रमुख र उपप्रमुखका समर्थकबीच विवाद हुँदा कुटाकुट

वीरगन्ज महानगरपालिकामा मंगलबार प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ । कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको हो । महानगर परिसरको नवनिर्मित भवनको तेस्रो तल्लामा केही दिन अगाडि प्रमुख राजेशमान सिंहको कार्यालय सरेको थियो । प्रमुख सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपप्रमुखको कार्यालयसँगै रहेको थियो । उपप्रमुख इम्तियाज आलमले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए । सोही कोठा आलमले पञ्जीकरण शाखाका लागि दिन नमान्दा प्रमुख र उपप्रमुखका समर्थकबीच घम्साघम्सी भएको बताइएको छ । विवाद बढ्दै गएपछि प्रमुख र उपप्रमुखका समर्थक महानगरमा ओइरिएका थिए । केहीबेरको तनावपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ ।।

प्रतिक्रिया