गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या अठार हजार नाघ्याे

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको छ । लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम आक्रमण गरेको हो । ।  आइतबारमात्रै २ सय ९७ जना मारिएका छन् भने ५ सय ५० जना घाइते भएका छन् । इजरायलले आक्रमणमा हमास कमाण्डरलाई मारेको जनाएको छ । उसले हमासको शेजैया बटालियनका कमाण्डर इमाद क्रिकाईलाई मारेको घोषणा गरेको हो । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन । कतारमा आइतवार भएको दोहा फोरमको क्रममा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मदल गाजामाथि आक्रमण गरिरहेका कारण इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन । गाजा संकटमाथि छलफल गर्दै उनले इजरायललाई अन्तराष्टिर्य मानवाधिकारको उल्लङ्घन जारी राख्न अनुमति नदिन पनि माग गरे । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले इजरायल–गाजा युद्ध अन्त्यको निर्णय अमेरिकाले गर्न नसक्ने प्रष्टीकरण दिएका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा गाजामा युद्धविरामका लागि गरिएको प्रस्तावविरुद्ध भिटो प्रयोग गरेपछि अमेरिकाको आलोचना भइरहेको छ । अरब देशहरुबाट बढेको आलोचनाका बीच विदेशमन्त्री ब्लिंकनको यस्तो प्रष्टीकरण आएको हो । ब्लिंकनले अमेरिकाले तेल अभिवलाई सल्लाह मात्रै दिन सक्ने भन्दै लडाईँको विषय उनीहरुमा निहित रहेको प्रष्टोक्ति दिएका हुन ।गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या १८ हजार पुगेको छ । आइतबार साँझसम्म १८ हजार जनाको मृत्यु पुष्टि भएको हो ।  अक्टोबर ७ यता गाजामा झन्डै ५० हजारजना घाइते भएका छन् । नौ हप्ताअघि अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा १२ सय जना मारिएका थिए । हमासले २ सय ४० जनालाई बन्दी बनाएको थियो । जसमध्ये केही रिहा भइसकेका छन् । यसैबीच इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निभाइरहेको कतारले अस्थायी युद्धविरामको प्रयास गरे पनि सफल हुन सकेको छैन ।। 

प्रतिक्रिया