मानव अधिकार आयोगको सिफारिस शतप्रतिशत कार्यान्वयन हुन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताएका हुन । प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिरूपमा पनि आफूले प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री दाहालले आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव सहयोग हुने बताए । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस १५.३ प्रतिशत मात्र पूर्णरूपमा कार्यान्वयन भएका बताउँदै संवैधानिक आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
अध्यक्ष मगरले सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएकाले त्यससम्बन्धी प्रक्रिया चाँडो अघि बढाउन आग्रह पनि गरे । गैरसरकारी महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले वर्तमान संविधान उत्कष्ट भए पनि संवैधानिक संयन्त्र र कार्यान्वयनको अवस्था कमजोर रहेका बताए । कार्यक्रममा पचास हजार रुपैयाको मानव अधिकार पुरस्कार पत्रकार प्रकाशबहादुर सिंह तथा समान राशीको दयाराम स्मृति सम्मान अधिकारकर्मी भवानीकुमारी कोइरालालाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया