शेयर बजारमा तीन पटक सकारात्मक सर्किट
मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा देखिएको छ । शेयर बजारमा हरियाली छाएपछि आज तीन पटक ‘सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ बजेर ७ मिनेटमा फेरि सुरु भएको कारोबारमा दुई मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आजका लागि सेयर कारोबार बन्द भएको छ । आज सेयर बजारको परिसूचक नेप्से १ सय ११ अंक बढेको छ । शेयर बजार आज नेप्से १ हजा ९ सय ६३ अंकमा कायम भएको छ । दिनभर ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा केन्द्रीय बैंकको पछिल्लो निर्णयले शेयर बजारमा सकारात्मक प्रभाव पारेको हो ।।
प्रतिक्रिया