गाजाबाट विस्थापित भएका हजारौं सर्वसाधारणको जीवन कष्टपूर्ण

इजरायलको लगातारको बमबारीका कारण गाजाबाट विस्थापित भएका हजारौं सर्वसाधारण प्यालेस्टाइनको रफाहमा कष्टपूर्ण जीवन बाच्न बाध्य भएका छन । चिसो रातमा उनीहरुले खुल्ला आकाशमुनि रात बिताउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि विस्थापित हुने क्रम बढेको छ । गाजाका करिब १९ लाख जनसङ्ख्याको करिब ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । विस्थापितमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत तथा मानवीय मामिला हेर्ने निकायको सम्पर्कमा रहेका छन । उता इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । यसैबीच विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको बताएका छन् । त्यहाँका आधा जनसंख्या भोकमरीको चपेटामा छ । जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै प्यासै बस्न बाध्य छन् ।इजरायली सेनाका प्रवक्ताले भने गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउने कोसिस भइरहेको बताएका छन् । हप्तौदेखि चलेको द्वन्द्वमा इजरायली आक्रमणका कारण करिब १७ हजार ५ सय व्यक्तिको मृत्यु भएको हमासले जनाएको छ ।। 

प्रतिक्रिया