भ्रष्टाचार नियन्त्रणका लागि थप कदम चाल्ने प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताएका छन् । शनिबार काठमाडौंमा भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार लगायत अन्य गैरकानूनी ढंगबाट आर्जित सम्पती विदेशबाट पुनः प्राप्तिका लागि कानूनी र संरचनागत प्रवन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको पनि बताए । उनले भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानूनबमोजिम परिचालन गरिरहेको पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्न सरकार दृढतापूर्वक अगाडि बढीरहेको दाबी पनि गरे । 
प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गरी सेवाग्राहीलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गराउने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया